सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया तथा नतिजा बदर गरेपछि पार्टीभित्रको विवाद चर्किएको छ। अधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन भएपछि आन्तरिक असन्तुष्टि थप बढेको हो।
आइतबार बसेको आयोगको बैठकले अधिवेशनका क्रममा अपनाइएका प्रक्रिया पार्टीको विधान तथा निर्वाचन कार्यविधिविपरीत रहेको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र नतिजा खारेज गर्ने निर्णय गरेको हो। आयोगका अनुसार उम्मेदवार तथा सदस्यहरूबाट प्राप्त प्रमाणसहितका उजुरीहरूको अध्ययन गर्दा निर्वाचनमा गम्भीर प्रक्रियागत त्रुटि भेटिएको थियो।
यता, अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले भने सभापतिका प्रत्याशी महेश चौधरी र हरि रेग्मीको दबाबका कारण निर्वाचन प्रक्रिया बदर गरिएको आरोप लगाएका छन्।
निर्वाचित कार्यसमितिका सचिव मदनराज जोशीले केन्द्रीय निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी बाटो अपनाइने बताएका छन्। उनले पाँचवटै निर्वाचन क्षेत्र र १३ वटै पालिकाका सभापतिहरूको सहमतिमा अधिवेशन सम्पन्न भएको दाबी गर्दै निर्वाचित समितिलाई मान्यता नदिने निर्णय स्वीकार्य नभएको बताए।
जोशीका अनुसार सबै निर्वाचन क्षेत्र तथा पालिकाका पदाधिकारीहरूले संयुक्त हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा पत्र पठाउने तयारी गरेका छन्।
उल्लेखनीय छ, उक्त अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *