काठमाडौं । काठमाडौंस्थित माइतीघरमा कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको दाबी गर्दै उनीहरूले निष्पक्ष छानबिन र पुनर्मूल्याङ्कनको व्यवस्था गर्न माग गरेका हुन्।
प्रदर्शनको नेतृत्व विद्यार्थी रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतले गरेका थिए। प्रदर्शनमा सहभागीहरूले ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ?’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?’ र ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
आन्दोलनको नेतृत्व गरिरहेका रञ्जित कार्कीले छिटो नतिजा सार्वजनिक गर्ने नाममा मूल्याङ्कनमा त्रुटि भएको र त्यसको प्रत्यक्ष असर विद्यार्थीमाथि परेको बताए। उनका अनुसार हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक छ।
साहिल रिजालले पुनर्मूल्याङ्कन र रिटोटलिङ प्रक्रिया प्रभावकारी नभएको गुनासो गर्दै विद्यार्थीलाई आफ्नो उत्तरपुस्तिका पुनः परीक्षण गराउने अधिकार सुनिश्चित हुनुपर्ने बताए।
त्यस्तै दिवस श्रेष्ठले नतिजासम्बन्धी विवाद केवल प्राप्तांकको विषय नभई शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पारदर्शी छानबिन आवश्यक रहेको धारणा राखे।
स्मृति खतिवडाले मूल्याङ्कन प्रणालीमा विश्वास कायम गर्न उत्तरपुस्तिका पुनर्परीक्षण र निःशुल्क रिटोटलिङको व्यवस्था गरिनुपर्ने बताइन्। उनले विद्यार्थीका जायज मागलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरिन्।
अंशु पन्तले नतिजापछि धेरै विद्यार्थी मानसिक तनावमा परेको उल्लेख गर्दै त्रुटि भए–नभएको स्वतन्त्र छानबिनबाट स्पष्ट हुनुपर्ने माग गरिन्।
यस्तै साहेब साहले विद्यार्थीको आवाजलाई बेवास्ता गरिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी दिए। उनले सम्बन्धित निकायले मागहरूको शीघ्र सम्बोधन गर्नुपर्ने बताए।
प्रदर्शनकारी विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरूको चेतावनी छ।
यता, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पार्दै मूल्याङ्कन निर्धारित मापदण्डअनुसार नै गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *