BNYS चिकित्सक डा. चेतना पौडेलको पक्राउप्रति योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको गम्भीर आपत्ति

काठमाडौं, नेपाल — नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा BNYS चिकित्सक डा. चेतना पौडेललाई पक्राउ गरिएको घटनाप्रति योग तथा प्राकृतिक चिकित्सक संघ, बासबारी, नेपाल ले गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा डा. पौडेलको शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा नेपालमा उनको वैधानिक हैसियतबारे स्पष्ट पार्दै पक्राउ प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको छ।

विज्ञप्तिअनुसार डा. चेतना पौडेलले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (RGUHS), बेंगलुरु अन्तर्गत रहेको SDM College of Naturopathy and Yogic Sciences बाट Bachelor of Naturopathy and Yogic Sciences (BNYS) उपाधि प्राप्त गरेकी हुन्। संघले BNYS कुनै छोटो तालिम वा साधारण प्रमाणपत्र कार्यक्रम नभई विश्वविद्यालयस्तरको पूर्णकालीन व्यावसायिक स्वास्थ्य-विज्ञानसम्बन्धी अध्ययन भएको उल्लेख गरेको छ।

संघका अनुसार डा. पौडेलको शैक्षिक योग्यता त्रिभुवन विश्वविद्यालयबाट समकक्षता (Equivalence) प्राप्त छ भने उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा विधिवत् दर्ता भई व्यावसायिक अभ्यास गरिरहेकी छन्। त्यसैले उनको शैक्षिक योग्यता र व्यावसायिक दर्ता दुवै सम्बन्धित नेपाली निकायबाट मान्यताप्राप्त रहेको संघको दाबी छ।

संघले नेपालमा हालसम्म BNYS चिकित्सकहरूका लागि छुट्टै परिषद् स्थापना नभएको उल्लेख गर्दै यस क्षेत्रका चिकित्सकहरू NHPC मा दर्ता भएर व्यावसायिक अभ्यास गरिरहेको जनाएको छ। साथै, NHPC को भूमिका स्वास्थ्य व्यवसायीहरूको दर्ता तथा नियमन गर्ने भए पनि “डा.” उपाधि प्रदान गर्ने अधिकार सम्बन्धित विश्वविद्यालयको हुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा डा. चेतना पौडेलले प्रयोग गरिरहेको “डा.” उपाधि आफूले अध्ययन पूरा गरेको विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधि भएको उल्लेख गर्दै यस विषयमा भ्रम फैलाउने गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा BNYS चिकित्सकहरूको पेशागत मर्यादा र अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

  • नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *