काठमाडौँ, २३ असार २०८३ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला सार्वजनिक भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार साँझ यस प्रकरणका पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिवलगायत उच्च पदस्थ १३ जनालाई दोषी ठहर गर्दै ६ जनालाई सफाइ दिएको छ ।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई मुख्य कसूरदार ठहर गरेको छ । यी तीनै जना राज्यविरुद्धको कसूरमा समेत दोषी ठहर भएका छन् ।
यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाणका स्वकीय सचिव नरेन्द्र केसी र हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ भने सङ्गठित ठगीको ‘मतियार’ (सहयोगी) ठहर भएका छन् । यी चारै जनालाई राज्यविरुद्धको कसूर भने नलागेको अदालतले जनाएको छ ।
त्यसैगरी, केशवप्रसाद दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई गिरोहका मुख्य योजनाकारका रूपमा दोषी ठहर गरिएको छ । रायमाझीसहित ९ जना राज्यविरुद्धको कसूरमा दोषी ठहर भएका छन् ।
फैसलामा अदालतले आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाई विदेश पठाउने कार्यले मुलुकको छविमा गम्भीर आँच पुर्याएको उल्लेख गरेको छ । सङ्गठित रूपमा गरिएको यो अपराधले अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता घटाएको अदालतको ठहर छ ।
अर्कोतर्फ, प्रमाणको अभाव देखाउँदै अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा, रामशरण केसी, प्राविधिक सई लक्ष्मी महर्जन, केशव तुलाधार र आशिष बुढाथोकीलाई सफाइ दिएको छ । सफाइ पाउनेमा प्रतीक थापा र सन्दीप रायमाझी मात्रै उच्च पदस्थ व्यक्तिका सन्तान हुन् भने अन्य चारजना सामान्य अभियुक्त हुन् ।
दोषी ठहर भएका सबै प्रतिवादीको सजायको मात्रा भने आगामी असार २९ गते निर्धारण गरिने अदालतले जनाएको छ । सजायको अवधि र जरिवानाको रकम त्यसै दिन खुल्नेछ ।
यो फैसलापछि दोषी ठहर भएकाहरूको पक्षमा र सफाइ पाएकाहरूको विपक्षमा उच्च अदालतमा पुनरावेदन हुन सक्ने कानुन व्यवसायीहरूले बताएका छन् । अदालतको पूर्णपाठ सार्वजनिक भइसकेको छैन ।
हेर्नुस् नाम
सफाइ पाउनेहरूको सूची
१ रामशरण केसी सामान्य अभियुक्त
२ लक्ष्मी महर्जन प्राविधिक सई
३ केशव तुलाधार सामान्य अभियुक्त
४ प्रतीक थापा पूर्वगृहमन्त्री बादलका छोरा
५ सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा
६ आशिष बुढाथोकी सामान्य अभियुक्त
दोषी ठहर भएकाहरूको सूची
१ टोपबहादुर रायमाझी पूर्व उपप्रधानमन्त्री
२ डा. ईन्द्रजित राई पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार
३ टेकनारायण पाण्डे पूर्व गृहसचिव
सङ्गठित ठगीका मतियार (सहयोगी)
४ बालकृष्ण खाण पूर्व गृहमन्त्री
५ नरेन्द्र के.सी. खाणका स्वकीय सचिव
६ शमशेर मियाँ हज समितिका पूर्व अध्यक्ष
७ टेकनाथ रिजाल भुटानी शरणार्थी नेता
मुख्य योजनाकार / गिराेह
८ केशवप्रसाद दुलाल गिरोह सदस्य
९ सानु भण्डारी गिरोह सदस्य
१० सन्देश शर्मा गिरोह सदस्य
घ. राज्यविरुद्धको कसूरमा दोषी थप
११ केशवप्रसाद दुलाल गिरोह सदस्य
१२ सानु भण्डारी गिरोह सदस्य
१३ सन्देश शर्मा गिरोह सदस्य
