काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी र संगठित अपराधमा दोषी ठहर गरेको छ। तर, उनका छोरा सन्दीप रायमाझी भने सफाइ पाएका छन्। यसैगरी, अर्का पूर्वमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासहित यो प्रकरणमा संलग्न ७ जनालाई अदालतले निर्दोष ठहर गरेको हो।
सन्दीप रायमाझीविरुद्ध सानु भण्डारीले उनको बैंक खातामा ४० लाख रुपैयाँ जम्मा गरेको उजुरी थियो। तर, भण्डारीको बयानमा उक्त रकम बुबा टोपबहादुरलाई दिएको २ करोड मध्येको अंश भएको र सन्दीपको खातामा राखिएको मात्रै भनिएको अदालतले जनाएको छ। सन्दीपले ‘लीयोन ट्रेडर्स लि.’ को सेयर सदस्य रहेको प्रमाण पेश गरेपछि अदालतले उनलाई कसुरसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भन्दै सफाइ दिएको हो।
अदालतको फैसलामा भनिएको छ, ‘भण्डारीको बयान तथा प्रमाणले सन्दीपलाई ठगी, राज्यविरुद्धको कसुर वा संगठित अपराधमा संलग्न देखाउन पर्याप्त आधार नभएकोले उनी निर्दोष ठहर भएका हुन्।’ यससँगै, प्रतीक थापासहित अन्य ५ जनाले पनि सफाइ पाएका छन्।
पूर्वमन्त्री टोपबहादुर रायमाझी भने सोही प्रकरणको मुख्य अभियुक्तका रूपमा दोषी करार भइसकेका छन्। उनीमाथि सजाय तोक्न अदालतले मङ्सिर २ गतेको मिति तोकेको छ।
