बुटवल, साउन १२ — नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीतिक अवस्था नयाँ मोडमा पुगेको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि अब मुख्यमन्त्री आचार्यले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ। प्रदेशसभामा हाल ८३ सदस्य कायम रहेकाले सरकार टिकाउन ४२ सांसदको समर्थन आवश्यक पर्छ।
यसबीच एमाले र नेकपाबीच नयाँ सरकार गठनका लागि छलफल तीव्र भएको छ। दुवै दलबीच मन्त्रालय बाँडफाँट, साझा कार्यक्रम र सरकार सञ्चालनको ढाँचाबारे गृहकार्य भइरहेको जनाइएको छ।
यद्यपि एमालेका २९ र नेकपाका १३ सांसद जोड्दा ४२ संख्या पुग्ने देखिए पनि सभामुखले मतदान गर्न नपाउने भएकाले बहुमतका लागि थप एक सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ। त्यसका लागि राप्रपा, जसपा, लोसपा, जनमत वा स्वतन्त्र सांसदसँग पनि छलफल भइरहेको स्रोतले जनाएको छ।
संविधानअनुसार मुख्यमन्त्रीले समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। विश्वासको मत प्राप्त हुन नसके प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।
