काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीले केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरस्थित कान्ति लोकपथ सोमबार बिहान ५ः३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गअन्तर्गत चारकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण अवरुद्ध भएको छ। उक्त क्षेत्रमा भने वैकल्पिक मार्गबाट आवागमन भइरहेको छ।
भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ। जोखिम बढ्दै गएपछि केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनसमेत रोकिएको छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्ड (वि.पी. राजमार्ग) मा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिने जनाइएको छ।
त्यसैगरी, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले वर्षायाममा सडकको अवस्था कुनै पनि बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा अघि सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
