काठमाडौं, साउन १६ — मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग भेट गर्दै हालै मधेसमा भएका घटनाहरू स्वतःस्फूर्त नभई सुनियोजित भएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा नेताहरूले घटना भएको दिन जिल्लामा प्रहरीका प्रमुख अधिकारीहरूको अनुपस्थिति, सोही समयमा विद्युत् अवरुद्ध हुनु तथा बंगलादेशबाट आएका रोहिंग्या शरणार्थीहरूलाई सीमामै नरोकिएको विषयलाई शङ्कास्पद भन्दै यी सबै परिस्थितिले योजनाबद्ध घटनातर्फ संकेत गरेको दाबी गरे। उनीहरूले श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि समेत प्रश्न उठाएका थिए।
मधेसी नेता रामकुमार शर्माले घटनाका सबै पक्षको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनका अनुसार यति गम्भीर घटना हुँदा पनि गृहमन्त्री तत्काल प्रभावित क्षेत्रमा नजानु तथा नेपाली सेनालाई परिचालन गरिएको विषयले थप आशङ्का उत्पन्न गरेको छ।
यता प्रधानमन्त्री बालेन्द्र शाहले भने घटनामा कुनै प्रकारको सुनियोजित षड्यन्त्र नरहेको स्पष्ट पारे। आन्दोलनको प्रारम्भिक चरणमा गृहमन्त्री प्रभावित क्षेत्रमा नगएको विषयबारे स्पष्ट पार्दै उनले त्यसो गर्दा थप तनाव सिर्जना हुन सक्ने भएकाले सुरुवाती चरणमा सुरक्षा निकायमार्फत अवस्था बुझ्ने र समन्वय गर्ने काम गरिएको बताए। पछि आफ्नै आग्रहमा गृहमन्त्री प्रभावित क्षेत्रमा गएको जानकारी पनि उनले दिए।
प्रधानमन्त्री शाहले प्रहरीमा दङ्गा नियन्त्रणसम्बन्धी पर्याप्त तालिमको अभाव रहेको स्वीकार गर्दै भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन आवश्यक तालिम र क्षमता अभिवृद्धि गरिने बताए। उनले शान्ति–सुरक्षा कायम राख्न आवश्यक भएकाले नेपाली सेनालाई परिचालन गरिएको पनि स्पष्ट पारे।
सङ्घीयतामाथि उठेका आशङ्कालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू सङ्घीय शासन व्यवस्थाको पक्षमा दृढ रहेको बताए। उनले राजतन्त्र पुनर्स्थापना, सङ्घीयता अन्त्य वा हिन्दु राष्ट्र घोषणा हुनेजस्ता चर्चा केवल अफवाह भएको उल्लेख गर्दै यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गरे।
मधेसी दलका नेताहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा प्रभावित क्षेत्रमा जनविश्वास पुनःस्थापित गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *