धनगढी, साउन १६ — सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मुख्यमन्त्री चयनलाई लिएर आन्तरिक विवाद चुलिएको छ। एमाले–नेकपाबीच भएको सत्ता सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भए पनि मुख्यमन्त्रीको विषयमा दलभित्र मतभेद देखिएको हो।
सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित मानिए पनि साविक माओवादी केन्द्रभित्रको शक्ति संघर्ष फेरि सतहमा आएको छ। मानबहादुर धामी पक्षले भट्टलाई मुख्यमन्त्री बन्नबाट रोक्न आन्तरिक पहल गरिरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार केही दिनअघि धामी पक्षले बहुमत जुटाएर भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरेको थियो। तर साविक नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबाट आएका सांसदहरूको समर्थन नपाएपछि उक्त प्रयास सफल हुन सकेन।
दल नेता परिवर्तनको सम्भावना कमजोर बनेपछि अहिले मन्त्री पदको बाँडफाँडलाई लिएर नेताहरूबीच छलफल तीव्र भएको बताइएको छ। साविक नाउपाले दुई मन्त्री र एक राज्यमन्त्रीको दाबी गरेको छ भने साविक एकीकृत समाजवादी पक्षले पनि सरकारमा सम्मानजनक सहभागिता माग गरेको छ।
यद्यपि नेकपाका उपनेता प्रकाश रावलले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। शीर्ष नेतृत्वबीच निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताए।
