साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपाली समाजमा विवेकभन्दा ‘भेडोपन’ हाबी हुँदा राजनीतिक नेतृत्व र निर्वाचन परिणामसमेत त्यसबाट प्रभावित भएको टिप्पणी गरेका छन्। ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले पछिल्ला निर्वाचनहरूमा मतदाताले उम्मेदवारभन्दा प्रतीक र भावनाको प्रभावमा मतदान गरेको दाबी गरे।
सङ्ग्रौलाका अनुसार गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनका क्रममा चितवन र नवलपरासीका धेरै मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरे पनि उम्मेदवारका रूपमा बालेन्द्र (बालेन) शाहलाई बुझेका थिए। यसले नेपाली समाजमा राजनीतिक चेतनाभन्दा भीड मनोविज्ञान बलियो रहेको उनको तर्क छ।
उनले इतिहासका विभिन्न निर्वाचनको उदाहरण दिँदै जनमत कहिले एकातर्फ उर्लिने र फेरि छोटो समयमै परिवर्तन हुने प्रवृत्तिलाई ‘भेडोपन’सँग तुलना गरे। राजनीतिमा विवेकपूर्ण निर्णयको अभाव हुँदा नेताहरूले भावनात्मक नारामार्फत जनसमर्थन जुटाउने अवसर पाउने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे टिप्पणी गर्दै सङ्ग्रौलाले उनी भ्रम र यथार्थको मिश्रण प्रस्तुत गरेर ठूलो जनसमर्थन जुटाउन सफल भएको उल्लेख गरे। तर नागरिकता र राहदानीसम्बन्धी कानुनी विवादका कारण कार्यकारी भूमिकामा रहन कठिन परिस्थिति बनेको उनको भनाइ थियो।
सङ्ग्रौलाले त्यही परिस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह जनअपेक्षाको ‘विकल्प’ वा ‘कामचलाउ’ पात्रका रूपमा उदाएको विश्लेषण गरे। उनका अनुसार समाजले तथ्य र तर्कका आधारमा निर्णय लिन नसकेसम्म नेपाली राजनीतिमा गुणात्मक परिवर्तन आउन कठिन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *