राजनीतिशास्त्री प्रा. कृष्ण खनाल ले सरकारले मुलुकका गम्भीर समस्याको दीर्घकालीन समाधान खोज्न असफल भएको आरोप लगाएका छन्। उनका अनुसार सरकार समस्याको जरो उखेल्नेभन्दा पनि तात्कालिक रूपमा ‘सामसुम’ पार्ने रणनीतिमा केन्द्रित छ, जसका कारण संकट जुनसुकै बेला फेरि चर्किन सक्ने अवस्था बनेको छ।
समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल अहिले ‘बहुसंकट’ को अवस्थाबाट गुज्रिरहेको बताए। मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्ज घटनालाई उदाहरण दिँदै उनले ती विषय समाधान नभई केवल मत्थर पारिएको जिकिर गरे।
प्रा. खनालले नेपाली राजनीतिमा हारको जिम्मेवारी स्वीकार गर्ने संस्कार नै हराएको टिप्पणी गरे। निर्वाचनमा पराजित भएपछि दलहरू आत्मसमीक्षा गर्नुको सट्टा अन्तर्घात, बाह्य प्रभाव वा अन्य बहाना देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेको उनको भनाइ छ।
उनले अध्ययनकर्ताले हारका वास्तविक कारण पहिचान गरे पनि राजनीतिक नेतृत्व र समाजले त्यसलाई स्वीकार गर्न नचाहने अवस्था रहेको बताए। साथै, विश्वविद्यालयहरूमा अनुसन्धान र प्राध्यापनबीचको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनले शैक्षिक वातावरणप्रति पनि असन्तुष्टि व्यक्त गरे।
प्रा. खनालका अनुसार स्थापित संस्था र निर्धारित प्रक्रियाले काम गर्न छाडेपछि मात्रै संकट गहिरिन्छ। अहिले मुलुकका अधिकांश समस्या समाधानतर्फ नभई केवल शिथिल बनाइएकाले भविष्यमा ती अझ गम्भीर रूपमा पुनः बल्झिन सक्ने खतरा रहेको उनको चेतावनी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *