काठमाडौं । बैंकिङ कसुर अभियोगमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।


शुक्रबार न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको थियो। बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनभन्दा फरक काममा प्रयोग गरी दुरुपयोग गरेको आरोपमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।


अभियोगपत्रअनुसार जगदम्बा स्टील्सका लागि लिइएको चालु पुँजी कर्जा रकम भट्ट र अग्रवालको मिलेमतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरिएको थियो। साथै उक्त रकम जग्गा खरिदका लागि बैना गर्नसमेत प्रयोग गरिएको दाबी गरिएको छ।
अदालतको आदेशसँगै दुवै अभियुक्तलाई मुद्दाको अन्तिम फैसला नआउँदासम्म पुर्पक्षका लागि थुनामा राखिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *