पाेखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन सकिएलगत्तै नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति शीतलनिवासमा बसेर देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउने विषयमा गम्भीर छलफल भएको बताए।
उनका अनुसार त्यतिबेला देश नयाँ मोडतर्फ जान लागेको चर्चा व्यापक थियो। “नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अर्कै युगमा प्रवेश गर्दैछ भन्ने चर्चा चलिरहेको थियो। पछि बुझ्दा नारायणहिटी वास्तवमै सफा गर्न लगाइएको रहेछ,” उनले भने।
प्रचण्डले त्यसबेला आफूहरू व्यक्तिगत राजनीतिक भविष्यभन्दा देशलाई असाधारण संकटबाट जोगाउने चिन्तामा रहेको बताए। उनले माओवादी केन्द्र संसद् विघटनको पक्षमा नरहेको दोहोर्‍याउँदै नयाँ प्रधानमन्त्रीलाई संसद्बाटै अनुमोदन गर्नुपर्ने आफ्नो अडान अन्तिम समयसम्म कायम रहेको उल्लेख गरे।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि प्रधानमन्त्री सिफारिस गरेको पत्र लेखेको दाबी गर्दै त्यसपछि मात्र आफूहरूले अन्तरिम सरकार गठनको वैधता देखेको बताए।
“अन्तरिम सरकारको प्रस्ताव हामीले गरेका होइनौं। ओलीजीकै सिफारिस देखेपछि देशलाई अर्को दुर्घटनातर्फ जान नदिन निर्वाचनको प्रक्रियालाई स्वीकारेका हौं,” प्रचण्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *