अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै विदेशमा निर्मित नयाँ ह्युमानोइड (मानवकार) रोबोटहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
मंगलबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रतिबन्ध मानवकार रोबोटमा मात्र सीमित नरही चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ। यीमध्ये अधिकांश रोबोट चीनमा निर्माण हुने भएकाले यो कदमलाई अमेरिका–चीनबीच तीव्र बन्दै गएको प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रतिस्पर्धासँग जोडेर हेरिएको छ।
यससँगै अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (FCC) ले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने केही पावर इन्भर्टरको आयातमा समेत रोक लगाएको छ। एफसीसीका अनुसार यस्ता उपकरणहरूले अमेरिकी पूर्वाधार र अर्थतन्त्रमा सुरक्षा जोखिम निम्त्याउन सक्ने सम्भावना छ।
एफसीसीका अध्यक्ष ब्रेन्डन कारले देशका महत्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित राख्न आवश्यक कदम चालिएको बताएका छन्। यस विषयमा प्रतिक्रिया लिन बीबीसीले वासिङ्टनस्थित चिनियाँ दूतावाससँग सम्पर्क गरेको जनाएको छ।
हाल चीनका प्रविधि कम्पनीहरूले औद्योगिक तथा घरायसी प्रयोजनका लागि ह्युमानोइड रोबोटको विकासलाई तीव्रता दिएका छन्। कतिपय चिनियाँ कम्पनीहरूले आफ्ना रोबोट व्यावसायिक रूपमा बजारमा ल्याइसकेका छन्, जसले अमेरिकी कम्पनी टेस्ला र बोस्टन डायनामिक्सलाई समेत चुनौती दिइरहेको विश्लेषण गरिएको छ।
ट्रम्प प्रशासनको यो निर्णयले अमेरिका–चीनबीचको प्रविधि प्रतिस्पर्धा अझ तीव्र बन्ने संकेत गरेको छ। बिबिसीबाट
