काठमाडौं २०८३-४-२१ ! बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै यसै वर्षको डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्।
सन् २०२४ मा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि भारतमा निर्वासनमा रहेकी हसिनाले बुधबार साँझ भर्चुअल पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गरेकी हुन्। नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया ले आयोजना गरेको उक्त सम्मेलन अडियो माध्यमबाट सञ्चालन गरिएको थियो।
पत्रकार सम्मेलनमा हसिनाले आफू सही समयमा स्वदेश फर्किने मिति सार्वजनिक गर्ने बताउँदै, “म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,” भनिन्।
उनले आफूमाथि झुटा तथा राजनीतिक प्रेरित मुद्दा लगाउने प्रयास हुन सक्ने दाबी गर्दै त्यसबाट नडराउने स्पष्ट पारिन्। “मेरो दायित्व र जनताप्रतिको प्रतिबद्धताभन्दा ठूलो कुनै डर छैन,” उनले भनिन्।
हसिनाले पछिल्ला दुई वर्षमा बंगलादेशले कठिन परिस्थिति भोगेको उल्लेख गर्दै वर्तमान अवस्था आफूले निर्माण गर्न चाहेको बंगलादेशभन्दा फरक रहेको टिप्पणी गरिन्।
सन् २०२४ को विद्यार्थी आन्दोलनबारे बोल्दै उनले उक्त आन्दोलन शान्तिपूर्ण नभएको दाबी गरिन्। उनका अनुसार आन्दोलनका पछाडि केही संगठित समूह सक्रिय थिए, जसले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक आन्दोलनमा रूपान्तरण गरेको थियो।
“मेरो सरकारले वार्ता, कानुनी प्रक्रिया र संयमताका माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरेको थियो,” उनले भनिन्।
हसिनाले आफू देशबाहिर बस्न बाध्य भए पनि बंगलादेशका जनतासँगको सम्बन्ध कहिल्यै नटुटेको उल्लेख गर्दै स्वदेश फर्केर फेरि जनतामाझ रहने प्रतिबद्धता व्यक्त गरिन्।
