काठमाडौं साउन १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्ध अन्त्य गर्ने प्रयासमा जुटिरहेका बेला मध्यपूर्वका दुई प्रमुख साझेदार साउदी अरब र इजरायलबाट परस्पर विरोधी दबाब आइरहेको छ।
साउदी अरबले युद्ध लम्बिँदा क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिम बढ्ने भन्दै तत्काल तनाव कम गरी कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ। साउदी रक्षामन्त्री खालिद बिन सलमानले वासिङ्टनमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेट गरी युवराज मोहम्मद बिन सलमानको यही सन्देश दिएका छन्।
यता इजरायल भने इरानमाथि थप सैन्य दबाब कायम राख्नुपर्ने पक्षमा देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको भेटमा कूटनीतिक प्रयासप्रति शंका व्यक्त गर्दै आवश्यक परे पूर्णस्तरीय सैन्य कारबाही पुनः सुरु गर्ने विकल्पबारे छलफल गरेको बताइएको छ।
यसले ट्रम्पको युद्ध अन्त्य गर्ने रणनीतिलाई थप जटिल बनाएको छ। रिपब्लिकन पार्टीभित्रै युद्ध अन्त्य गर्न दबाब बढे पनि द्वन्द्व विस्तार भइरहेको र नयाँ मोर्चाहरू खुल्दै गएकाले परिस्थिति चुनौतीपूर्ण बनेको अमेरिकी अधिकारीहरूको भनाइ छ। इरानसँग तत्काल प्रत्यक्ष कूटनीतिक वार्ता पुनः सुरु हुने सम्भावना पनि न्यून रहेको जनाइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प इरानले आफ्ना मागहरू स्वीकार नगरेको भन्दै असन्तुष्ट छन्। यसबीच अमेरिकी सेनाले इरानविरुद्ध थप सैन्य कारबाहीका विकल्पहरू तयार पारेको छ। सेन्ट्रल कमान्डको एक योजनामा इरानको क्षेप्यास्त्र क्षमता कमजोर पार्न एकदेखि दुई सातासम्म व्यापक हवाई आक्रमण गर्ने प्रस्ताव रहेको बताइएको छ।
तर अमेरिकी सेनाका प्रमुख जनरल डान केनले हवाई आक्रमण मात्रबाट युद्धका सबै उद्देश्य पूरा नहुने चेतावनी दिएका छन्। उनले हवाई प्रतिरक्षा प्रणालीको घट्दो क्षमता र सर्वसाधारणको ठूलो क्षति हुने जोखिमबारे पनि ट्रम्पलाई सचेत गराएका छन्।
हाल क्षेत्रीय कूटनीतिक प्रयासको मुख्य केन्द्र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषय बनेको छ। जलमार्ग खुलाउन सफल भए ट्रम्पले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्न सक्ने अपेक्षा गरिएको छ। तेलको मूल्यवृद्धिले आगामी निर्वाचनमा असर पार्न सक्ने भएकाले रिपब्लिकन नेताहरू पनि होर्मुज खुलाउनुपर्ने पक्षमा छन्।
यसैबीच कतार र पाकिस्तानलगायतका मध्यस्थकर्ताहरूले कूटनीतिक वार्ता पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन्। तर इरानभित्र इस्लामिक रिभोलुसनरी गार्ड्सको प्रभाव बढ्दै गएको र नेतृत्व प्रतिस्पर्धाका कारण युद्ध लामो समयसम्म चल्न सक्ने चिन्ता अमेरिकी तथा क्षेत्रीय अधिकारीहरूले व्यक्त गरेका छन्।
ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले अझै पनि सम्झौताको सम्भावना रहेको विश्वास व्यक्त गरे पनि नेतान्याहु कूटनीतिक समाधानप्रति आशंकित छन्। साउदी अरब भने युद्ध थप विस्तार हुन नदिन निरन्तर दबाब दिइरहेको छ। यस्तो अवस्थामा ट्रम्प युद्ध अन्त्य गर्ने कि इरानमाथि सैन्य दबाब अझ बढाउने भन्ने कठिन निर्णयको मोडमा पुगेका छन्।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *