काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले पहिलो पटक सार्वजनिक रूपमा यस्तो प्रतिक्रिया दिएकी हुन्।
७८ वर्षीया हसिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि सन् २०२४ को अगस्टमा आफ्नो १५ वर्ष लामो शासन समाप्त भएपछि भारतमा आश्रय लिइरहेकी छन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्। गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबमार्फत भिडियो सन्देश दिएकी थिइन्। भारतीय टेलिभिजन एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूविरुद्ध आएको अदालतको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित” भएको दाबी गर्दै मृत्युदण्डको सजायबाट आफू नडराउने बताइन्।
हसिनाले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै भनिन्, “मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए। तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ।” स्वदेश फर्किने योजनाबारे उनले थप्दै भनिन्, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसै वर्ष आफ्नो देश फर्कनेछु।”
गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगलाई पनि बङ्गलादेशमा गैरकानुनी राजनीतिक संगठन घोषणा गरिएको छ।
उता, गत फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएपछि भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि शेख हसिनाको प्रत्यर्पणको विषयमा दुवै देशबीच मतभेद कायम रहेको छ। बङ्गलादेश सरकारले हसिनालाई स्वदेश फर्काउन भारतसँग पटक–पटक प्रत्यर्पणको माग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *