अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ। अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमा दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको हो।
रेडक्रसका अनुसार पछिल्लो एक महिनामा रगतको मौज्दात करिब २५ प्रतिशतले घटेको छ। जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी, रक्तदान कार्यक्रममा आएको कमी तथा अन्य प्रतिकूल अवस्थाले रगत संकलन प्रभावित हुँदा संकट गहिरिएको जनाएको छ। अहिले रेडक्रसले सामान्य अवस्थाभन्दा दैनिक करिब ३ हजार ५०० युनिट बढी रगत अस्पतालहरूमा आपूर्ति गरिरहेको छ।
गर्मीको मौसममा सडक दुर्घटना, चोटपटक र आकस्मिक शल्यक्रियाका बिरामी बढ्ने भएकाले रगतको माग पनि उल्लेखनीय रूपमा बढ्ने गरेको छ। रेडक्रसका अनुसार दान गरिएको रगत अधिकतम ४२ दिनसम्म मात्र सुरक्षित रूपमा प्रयोग गर्न सकिने भएकाले मौज्दात कायम राख्न निरन्तर रक्तदान आवश्यक हुन्छ।
हाल सबै रक्तसमूहको रगत आवश्यक रहे पनि विशेषगरी ‘ओ पोजिटिभ’ रक्तसमूहको अभाव बढी देखिएको छ। पर्याप्त रगत उपलब्ध नभए नियमित शल्यक्रिया र आकस्मिक उपचार सेवा प्रभावित हुन सक्ने चेतावनी अस्पतालहरूले दिएका छन्।
उता क्यानडामा पनि रगतको मौज्दात घट्दै गएको छ। क्यानेडियन ब्लड सर्भिसेसका अनुसार जुन महिनायता रगतको भण्डारण करिब २० प्रतिशतले घटेको छ। पछिल्ला छ सातादेखि प्रत्येक साता हजारौं पूर्वनिर्धारित रक्तदान कार्यक्रम रद्द भएपछि मौज्दातबाटै रगत आपूर्ति गर्नुपर्ने अवस्था आएको छ।
दुवै देशका रक्त सेवा संस्थाले नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गर्दै पर्याप्त रगतको मौज्दात कायम राख्न सहयोग गर्न अपिल गरेका छन्।
बिबिसीबाट
