काठमाडौं, साउन १४ — श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार देशको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सरकारले जनतासँग संवाद बढाउन, शान्ति–सुरक्षा कायम गर्न तथा मुलुकका समस्याको समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले सरकार अभिभावकीय भूमिकामा कमजोर देखिएको टिप्पणी गर्दै देशलाई नेतृत्वविहीन अवस्थामा राख्न नहुने धारणा व्यक्त गरे।
राईले सरकार प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्थामा जिम्मेवारीबाट पछि हटेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए। “यदि प्रधानमन्त्री अथवा सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाएर जिम्मेवारी छोड्नुपर्छ,” उनले भने।
उनले सुनसरी घटनापछि सर्वदलीय बैठक राखिएको कदमको स्वागत गर्दै सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, यस्तो परिस्थितिमा सरकार स्वयंले अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
सांसद राईका यी अभिव्यक्ति प्रतिनिधि सभामा सरकारको कार्यशैलीमाथि गरिएको राजनीतिक टिप्पणीका रूपमा आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *