काठमाडौं, साउन १५ — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको जीपीएस ट्र्याकर शुक्रबार बिहान ६:१५ बजेसम्म सक्रिय देखिएको छ।
आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत ट्र्याकरको पछिल्लो गतिविधि सार्वजनिक गर्दै यसले पुर्जा तथा अन्य बेपत्ता आरोहीहरू जीवित हुनसक्ने आशा जगाएको बताएका छन्।
हिमपहिरोमा ६ नेपालीसहित १० जना आरोही सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेना, उद्धार टोली र सम्बन्धित निकायले प्रयास जारी राखेका छन्। यद्यपि, हालसम्म उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि भएको छैन।
